सायद कोहि नेपाली छन् होला जसले 'साइली' गीत सुनेका छैनन् । हो सोही सर्बाधिक चर्चित गीत 'साइली'को बिषयवस्तुलाई लिएर सोही नामको चलचित्र 'साइली'को आज औपचारिक घोषणा गरिएको छ । एक कार्यक्रमका बीच चलचित्रको मुख्य कलाकार गौरब पहारी र मेनुका प्रधान नै हुने गरि चलचित्रको घोषणा गरिएको हो । उक्त कार्यक्रममा गायक हेमन्त राना, नायक गौरब पहारी लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो तर नायिका मेनुका भने उपस्थित थिइनन् ।

चलचित्रलाई 'कबड्डी' फेमले परिचित निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । 'साइली'को कथा पनि निर्देशक गुरुङ आफैले लेखेका हुन् । 'जीएच इन्टरटेन्मेन्ट'को ब्यानरमा बन्ने चलचित्रमा हेमन्त, गौरव, अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको संयुक्त लगानी रहेको छ ।

कार्यक्रममा बोल्दै गायक हेमन्त रानाले यो गीत माथि चलचित्र बनाउनु सानो चुनौती नरहेको र सम्पूर्ण टिम मिलेर दर्शकको अपेक्षा अनुरुपको चलचित्र निर्माण गर्ने बताए ।