पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् -प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् । उनी अभिनित यस बर्षमात्र आधा दर्जन चलचित्रहरू प्रदर्शनमा आइसकेका छन् भने केही चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । केही दिन अघिमात्र चलचित्र 'लिलिबिलि'को छायाङ्कन सकिएर उनी हाल नेपालमा छिन् । वर्षभरि नै हात खाली नहुने यी नायिकालाई प्राय एउटै आरोप लाग्ने गर्दछ  । किन सधैँ एउटै भूमिका ? तर प्रियंका यसलाई स्वीकार गर्दिनन् , भन्छिन् 'मैले सधैँ एउटै भूमिकामा काम गरेको छैन । मेरो लागी हरेक चलचित्र नयाँ हुन्छ र त्यस भित्रको पात्र चुनौती । प्राय सबै चलचित्रमा फरक भूमिकामा गरिरहेको छु ।' उनी थप्छिन् 'बटरफ्लाईमा मैले मलाई  मन लागेको भूमिकामा काम गर्ने पाएको छु । मलाई सधैँ साधारण लभ स्टोरीमा काम गर्ने चाहना थियाे । पहिलो पटक म आफैँ बनेर काम गर्न पाएको छु ।' यही २८ गतेबाट रिलिज हुन लागेकाे बटरफ्लाई युनिटले आइतबार राखेको पत्रकार भेटघाटमा प्रियंकाले आफूले आफ्नो भविष्य सुरक्षित गर्नेको लागी लगातार  चलचित्रमा काम गरेको समेत बताइन् । 'चलचित्रमा काम गर्नु मेरो पेसा हो । यो बाहेक मेरो बुटिक पनि छैन ब्युटिपार्लर पनि छैन । मैले यही क्षेत्रमा काम गरेर आफूलाई पाल्नु पर्छ । तर त्यसो भन्दैमा पैसाको लागी मात्र मैले काम गरेको हैन । अहिले मैले जे गरिरहेको छु त्यसमा खुसी छु, रमाइरहेको छु ।' उनी भन्छिन् । प्रियंकाले पछिल्लो समय चलिरहेको पारिश्रमिक चर्चाको विषयमा पनि खुलेर नै आफ्नो बिचार व्यक्त गरिन्। भन्छिन् 'कुनै निर्माताले ११ करोड दिनु भयो भने म सायदै वर्षमा एउटामात्र चलचित्र गर्छु । तर अहिले हाम्रो क्षेत्र त्यो स्थितिमा छैन । चलचित्र क्षेत्र विकसित हुँदै गर्दा म यहाँ प्रवेश गरेकी हु। मैले नयाँ कलाकारले लिए जस्तो सायद १०-१२ लाख पारिश्रमिक लिन पनि सक्दिन होला। ‘
आफूले पाएको पारिश्रमिकमा सन्तुष्ट भएको प्रियंकाले बताइन् ।