२१२२ , चैत्र
खुप्पै खेल्न मन छ ,
रङहरुसँग !
उबेला विधवा नारीझैँ पन्छिएँ
- रङहरु बाट टाढै भागेँ
- उहीँ सेतो रङलाई नै इन्द्रेणी ठानेँ ।
सेतो ,
मात्र सेतो रङलाई !
सुर्यको सेतो रङनै भएपनि प्रिज्मबाट प्रतिच्छेदन गरेर
इन्द्रेणी बनाइदिहुँ !
- केवल चुनढुङ्गाको सेतो रङ
- सेतो गुराँसको सेतै रङ
- आमाले घर पोत्ने सेतै कमेरोलाई
हो यस्तै - यस्तै चिजलाई मात्रै जीवनको रङ सम्झिएँ !
अहिले खुप्पै खेल्न मन लाग्छ रङहरुसँग
तर ,
कोही आउँदैन मलाई रङ्ग्याउन !
कसैले गिजोलिदिए हुन्थ्यो ।
अहँ !
कुरुप बुढी सम्झेर कसैले फुटेका नजर फ्याक्दैनन् ।
सम्झिल्याउँछु ,
- यौवन
- जवानी
र बैँस त केवल समय रैछ !
कहिल्यै बुढी हुनुपर्ला सोचिनँ
सौन्दर्य नासिजाला कहिल्यै हेक्का भएन
गालामा मुजा पर्लान् ठानिन!
मातृत्व अनुभव नगरी
कसैको रुपमती नभई ,
कसैको रुपसी स्वास्नी नभइकनै पनि
नारी सौन्दर्यको
हिमशिखर ' स्तन ' झोल्लिदा रैछन्
"कोही त आउ ,
मलाई बेस्मारी गिजोल
मलाई यौवनको तृप्त समयमै फर्काउ !", चिच्याउँछु फगत-
फगत !
कसैले दृष्टि फ्याक्दैनन्
बरु बहुलाई आइमाई भनेर अपहेलित गर्छन् ।
कसैले भन्छन् , "विचरा बुढेसकालमा छोराछोरीले
नहेरेपछी बहुलाएकी हुनुपर्छ !"
कसरी भनुँ यो सारा संसारलाई
मैले छोराछोरी जन्माउन आवस्यक ठानिनँ
मातृत्व बुझिनँ !
मात्र ,
प्यार खोज्नेहरुलाई केवल भमरा सम्झेँ !
अझ नारी अस्मिता लुट्ने गिद्द सम्झिएँ ।
अहिले सद्दे छु म !
बरु उबेला बहुलाएकी रैछु ,
बहुलाउन
कपडा फ्याकेर नाङ्गै हुनुमात्र रहेनछ !
अश्लील वचन बोल्नुमात्र बहुलाउनु नरहेछ !
- प्रेमी र प्यासी छुट्याउन नसएकेर
बहुलाएकी रैछु !
- यौवन नबुझेर बहुलाएकी रैछु !
- प्यास दबाएर बहुलाएकी रैछु !!
हो ,
समय घर्किसकेछ !
मैले चाहेर पनि कसैले मलाई अगाल्दैनन् अहिले ,
कसैले सिउँदो रङ्ग्याउदैन् !
"सिउँदो ?"
कोहि बाचेको प्रमाण सम्झिएँ र ठुलै बोझ सम्झिएँ !
कुनै समयको प्रेमी त्यागेँ
- बाको इज्जतको लागि
- समाज , संस्कृति र परम्पराप्रती
- परम्पराको दलिन भत्काउने साहस गरिनँ !
बा को प्रतिष्ठालाई शिरोपर गर्दै
उसलाई पर्गेलेँ !
अहिले त छैन उ यस लोकमा ,
सायद मेरै अघिल्तिर हुँदोहो त
पुरै-पुरै मायाले अगाल्दोहो !