'हैन यो काठमाण्डुको बसाई पनि अति गाह्रो। कमा'को पैसा कोठाभाडा र खाई खर्चमै ठिक्क।'
साथी राजेशले मनकै कुरो गर्यो। हुन पनि हो, आफुले पनि जागिर खा'को छु भन्नुमात्र छ। कहिले नि केहि किन्न, जोड्न पुगेन। पढ्न भनेर काठमाण्डु बसेको मलाई कमाएर घरमै पठाउनु त पर्थेन तैपनि घरबाट छोरोलाई खर्च पुगेन भनेर पनि आउँथेन। जति जे छ बसाई, पढाई मै आफैँले व्यहोर्नुपर्ने। कलेज त उहि त हो नि जाँच दिन मात्र जाने।
मेरो अफिस चाहिँ न्युरोड। मारवाडिको घडि पसल। दिनभरि पसल रूँग्यो, हजुर यो ब्राण्ड, यति प्राइस भनेर नम्र भएर निच्च हाँस्यो अनि बेलुकि फर्कियो। यसरी महिनादिन कटायो अनि साहुले गनिदिएको दशवटा हजार बोकेर कोठातिर फर्कियो। चारवटा हजार घरबेटिलाई बुझायो अनि दुईवटा पसलेलाई बुझायो। बाँकि चारवटाले महिनाभरिका भैपरि आउने खर्चहरू धान्यो।
जागिर खा'को भन्नुमात्र भयो। केहि रहरहरू पुरा गर्न सकिएन। सधैँको फिक्स्ड खर्चले अलि महंगो जुत्ता किन्ने पनि आँट आइरहेको थिएन।
सदाझैँ गोंगबु चोकबाट माइक्रो चढ्नु अनि न्युरोड गेटमा ओर्लिनु मेरो दैनिकि। आठैबजे बिहानको खाना खाइवरि पसल पुगेपछि एकैचोटि बेलुकि सात बजे कोठामा पुग्थेँ।
यसरी नै एकदिन पसल पुगेँ। ग्राहकहरू आउने-जाने चलि नै रह्यो। विभिन्न ब्राण्डका घडिहरू देखाउने काम चलि नै रह्यो। केहिले किने पनि। साहुजी एकैचोटि साँझमा आउने भएर म आफ्नै काममा व्यस्त भएँ। खाना घरमै खाएर आउने भएपनि दिउँसोको खाजाको चाहिँ मलाई व्यवस्था मिलाइएको थियो। मेरो पसलभन्दा सडकपारिको होटलबाट खाजा आइपुग्थ्यो।
खाजा ल्याउने होटलको केटो त्यस्तै सत्र,अठार वर्षको थियो। नवीन नाम भएको केटो घर सिन्धुपाल्चोक हो भन्थ्यो। खाजा ल्याइदिने र भाँडा लिन आउने क्रममा सामान्य बोलचाल गर्ने सोझो खालको केटोसँग घनिष्ठजस्तै सम्बन्ध थियो।
पसलमा खासै भीडभाड थिएन। दुई बजे नवीनले खाजा ल्याईदियो। प्याकिंग गरिएको बक्साभित्र डेढ प्लेट चिकेन म:म थियो।
'खाजा राखिदिएर उसले चियाका कप खोज्न टेबुलमुनि निहुरियो। चियाका कप लिएर फिस्स हाँस्दै बोल्यो,' दाई आज चिया खानुभएन कि के हो? कप त एउटा मात्र रै'छ त!'
'हैन खाको छु त। भित्र परेको होला हेर त!'
'बिहान कस्ले ल्याइदिएछ त चिया दाई?' अझै भित्र निहुरिएर उसले कप निकाल्यो।
'खोई म त चिन्दिन नाम त, तिम्रै पसलमा आएको त्यो नयाँ केटाले ल्याको हो।' मैले म:म को बक्सा फैलाएर खोलेँ।
'ए, ए त्यस्को नाम रामे हो दाई। केहि ढंग छैन त्यसको। चिया नि कस्तो थियो कुन्नि।' कप औँलाहरूमा अड्काएर ढोकामा पुगेको नवीन ठिंग्ग उभियो। उसलाई त्यो नयाँ केटोलाई गाली र आफ्नो तारिफ सुन्ने इच्छा थियो सायद।
'चिया त याद भएन तर यो म:म चाहिँ अत्ति स्वादिलो रै'छ।' मैले एउटा डल्लो म:म खाइसकेर अर्कोमा काँटा गाड्दै भनेँ। केटो फुरूक्क फुर्कियो।
'किमा बनाउने त सधैँ मै हो नि त दाई!' यति भनेर मुस्कुराउँदै बाहिरियो। मलाई पनि नवीनको मुस्कानसहितको म:म झन् स्वादिलो लाग्दै थियो।
---------------- ------------ ---------
भोलीपल्ट सदाझैँ म नौ बजेतिर पसल पुगेँ। साहुजी म पुगेपछि निस्किने तरखर गरे। मैले साहुजी निस्किएपछि फोन गरेर चिया मगाएँ। चिया नआउन्जेल पसल बढार्न थालेँ। बढार्दा बढार्दै मैले टेबुलमुनि कुचो घुसारेँ। कसिंगर सोहोर्न लाग्दा कुचोमा केहि अड्किएर आएको देखेँ। म अचम्ममा परेँ। त्यहाँ त कट्कटिएको एउटा हजारको नोट थियो। म दंग परेँ। एकछिन त कतै काउन्टरमा हिसाब गडबड छ कि भनेर चेक गरेँ। बिलहरू र क्यास 'ट्यालि' गर्दा हिसाब बराबर नै देखेँ। अब यो पैसा कसको हो त? म सोचमग्न परेँ।
साहुजी को होला त? अहँ बुढा त त्यो टेबुलपट्टि त्यति जाँदैनन्। गएपनि साथमा क्यास नबोक्ने बुढा त्यसमाथी पैसा अति जोगाएर राख्छन्। उनको हैन होला। हो रै'छ भनेपनि कुरा गरे भने दिनुपर्ला।
अरू कसको हुन सक्ला त? सधैँ आउने र टेबुल वरीपरी पुग्ने त्यहि नवीन हो। बिचरा त्यो गरिब केटोले कहाँ हजारको नोट बोकेर हिँड्ला र? त्यसको त पक्कै हैन। अरू कसको हुनसक्ला? पक्कै कुनै ग्राहकले खसालेका होलान्। मनमा यहि दृढ निश्चय गरियो। अब एकदुई दिन कसैले दाबी गर्छन् कि भनि बाटो हेर्ने सोच बनाएँ। कोहि नआए त्यो पैसा आफ्नो हुने मनमनै ठानेँ।
दिउँसो खाजा लिएर रामे आयो। खासै घुलमिल नभएको केटो खाजा राखिदिएर गिलास उठाउँदै थियो। 'नवीन कता छ त भाई?' मेरो प्रश्नले झसंग्ग भएर हेर्यो।
'खै! बिरामी छ रे! सन्चो भएन भनेर आएन आज।हिजो त साँझमा खुशी हुँदै अलि चाँडै नै पसलबाट गा'को थियो।'
यति भनेर ऊ गयो। मलाई थोरै चिन्ता लाग्यो। के भएछ त बिचरालाई।
----------- ---------------- -------------
मैले भेटाएको हजारको नोट दाबी गर्न पसलमा कोहि पनि आएनन्। मसँग गतिलो खालको जुत्ता पनि थिएन। मलाई पक्कै पनि जुत्ता किन्नकै निम्ती यो हजार जुरेको हो भन्ने लाग्यो।
म हरेक महिना जुत्ता किन्ने सोच बनाउँथेँ। तर सबै हिसाबकिताब मिलाएर बच्ने ३, ४ हजारबाट एकैचोटि २ हजार जति निकालेर जुत्ता किन्दा पनि एकैचोटि खल्ति रित्तिएला भन्ने पीर लाग्थ्यो। हरेक महिना यसरी नै टारिरहेको हुन्थेँ। तर यसपटक भने जुत्ता किन्ने आँट आउँदै थियो। यहि भेट्टाएको हजारमा अर्को एक हजार मिसाएर जुत्ता किन्ने सोच बनाएँ। बाँकि रहेका दुई तीन हजारले त केहि दिन थेगिहाल्छ। त्यसपछि त अर्को महिनाको तलब पाइहाल्छु नि। यहि सोचमा फुरूंग्ग परेँ। र साँझमा फर्कने बेलामा काठमाण्डु मलबाट जुत्ता किनेर फर्किएँ।
------------ --------------- --------------
एकदिन बिहान नवीनले चिया ल्यायो। उसै त पातलो केटो, झन् दुब्लाएछ। अनुहार पनि निन्याउरो देखिन्थ्यो। केहि बोलेन। चिया राखिदिएर गयो। म पनि आफ्नै काममा व्यस्त भएर उसलाई केहि सोध्न पनि भ्याइनँ।
दिउँसो पनि नवीन नै खाजा लिएर आइपुग्यो। म फुर्सदमै थिएँ। उसले खाजा टेबुलमाथी राखिदिँदै टेबुलमुनितिर निहुरियो। कप टिप्यो अनि पुलुक्क मतिर हेर्यो।
'तिमी त दुब्लाएछौ नि त भाई। के बिरामी भा'को तिमी?' मैले खाजाको प्याकेट खोल्दै चासो लिएर सोधेँ।
'जोरो आयो नि दाई। झण्डैले मरेको नि म त!'
'खानपीन नमिलेर होला नि!'
'खै दाई सबैले खाने यहि आफ्नै होटलमा खाने हो। के खानपानले भन्नु। राम्रै छ त यहाँको खानेकुरा त।'
'साँच्ची खाना, खाजा सबै देको छ साहुले?' मैले म:म खाँदै सोधेँ।
'अँ दाई!'
'त्यसोभए तलब चाहिँ कति दिन्छ नि?'
'जाबो ६ वटा हजार छ दाई।'
'ठिकै रै'छ नि सबै बचिहाल्छ त होला नि।'
'काँ पाएर बच्नु दाई। बाउ आमा दुइटैलाई प्रेसरको औषधि किनेर पठाउनुपर्छ। कोठाभाडा पनि आधि तिर्नुपर्छ।'
'कोठाभाडा आधि चैँ कस्ले तिर्छ नि?' मलाई अहिलेसम्म थाहा नभएको उसको पृष्ठभुमिबारे थाहा लाग्दै थियो।
'एउटा साथी छ गाउँकै। चोर साला!' ऊ अलि भावुक भयो। आवेशमा आइहाल्यो।
'किन र! साथी असल छैन कि के हो?'
'त्यो साला त चोर हो। अलि राम्रो तलब आउने ठाउँमा काम गर्न पाए त्योसँग त बस्दै बस्दिन। अहिले यो पसल नजिकै भएर पनि कोठा छोड्न पाएको छैन।' ऊ अलि दृढ जस्तो देखियो।
'किन के चोर्यो र त्यसले तिम्रो?' मैले थोरै व्यंग्य मिसाएर सोधेँ।
'त्यस्तोसँग जोगाएर राखेको एक हजार रूप्पे थियो। त्यहि पनि चोरेर मरेछ!'
म खंग्रंग्ग भएँ। शरिर चिसो र पसिना पसिना भयो। मुखमा राखिसकेको म:म को डल्लो चपाइनै सकिनँ। ऊ अझै बोलिरहेको थियो।
'झन् सेतो सर्टको खल्तीमा राखेर पट्याएर राखेको थिएँ। एकदिन त्यो मेरो सर्ट लगाएर बाहिर गएछ अनि त्यसमा भा'को पैसा निकालेर सर्ट भने खुसुक्क जस्ताको तस्तै बनाएर राख्देछ। चोर हरामी। आमालाई एउटा स्वीटर किन्दिन्छु भनेर राखेको पैसा। बिचरी आमालाई त्यो चिसोमा जहिले पनि फाटेकै चोलोले जाडो कटाउनुपर्छ!' नवीन भावुक भयो। आँखामा रीस र पीडा दुबै देखिन्थे।
यता मेरो हालत झन् गम्भिर भैसकेको थियो। बाँकि रहेका केहि डल्ला म:म पनि मुखमा हाल्ने आँट आएन।
'ल दाई म:म मन परेन कि के हो? आजकाल त्यो रामेले किमा बनाउन थालेछ। त्यहि भएर मीठो भएन भन्छन् सबैले। म जत्तिको चाहिँ कोहि छैन हैन त दाई हाम्रो होटलमा?'
मैले अप्ठेरोसँग मुन्टो हल्लाएँ। नवीन हतारिएर बाहिरियो। मेरो मनमा आँधिबेहरी चल्न थाल्यो।
--------------- ------------- -----------
मलाई यकिन भयो। मैले भेटेको पैसा नवीनकै थियो। उसले त्यो पैसा टेबुलमुनि खसालेको दिन खैरो रंगको सर्ट लगाएको थियो। उसले यहाँ पैसा खसालेको पत्तो पाएन र त घरमा खोजिरह्यो। घरमा फेला नपरेपछि उसले साथीलाई शंका गर्यो। बास्तवमा उसले सेतो सर्टमा नभई खैरोमै पैसा राखेको हो। तर पैसा हराएपछि उसले बिर्सिएको हो।
मलाई अपराधबोध भयो। मलाई लगाइराखेको जुत्ता साँघुरो हुँदै पोल्न थालेको अनुभव भयो।
कोठामा आएर पनि मलाई मनमा शान्ति भएन। मैले यताउति खोजेँ। मसँग जम्मा पन्ध्रशय बाँकि रहेछ। मैले सत्य बोल्ने निर्णय गरेँ। एउटा हजारको नोट पसलमा भेटेको भनेर नवीनलाई फिर्ता गर्ने सोच बनाएँ। आफुलाई खर्च नपुगे बरू सरसापट गरौँला भन्ने विचार गरेपछि बल्ल म राती एकबजे निदाउन सकेँ।
भोलीपल्ट चिया लिएर आएको नवीनलाई एकछिन बस्न भनेँ। मलाई धेरै नै गाह्रो भयो। म सत्य पनि बोल्दै थिएँ, झुट पनि बोल्दै थिएँ।
'तिम्रो हराएको हजारको नोट यहि हो भाई। लौ यो लिउ। मैले यो टेबुलमुनि फेला पारेको हुँ।' यति बोलिरहँदा मेरा ओठहरू काँपिरहेका थिए भने हजारको नोट दिँदैगर्दा हात काँपिरहेका थिए। 
'भयो दाई! तपाईँको कुरा म बुझ्छु। यो तपाईँको पैसा तपाईँ नै राख्नुस्। तपाईँले यति भन्दिनु भयो यो नै लाख भयो मलाई।' उसले मेरो कुरा पत्याएन। मैले उसमाथि दया गर्न लागेजस्तो ठानेछ।
'हैन भाई राख यो तिम्रै पैसा हो!' मैले धेरै कर गरेँ। धेरैथरि कुराहरूले प्रष्ट पार्न खोजेँ तर पनि उसले मानेन। मैले 'तिमीलाई खाँचो छ राख। आखिर उहि पैसा त हो नि, आमालाई मेरो तर्फबाट स्वीटर किन्देउ न' भनेँ।
'पैसा त पैसा नै हो दाई। तर अरूको कमाईको पैसा सित्तैमा खर्च गर्न पोल्छ दाई। आमालाई स्वीटरले न्यानो त होला तर यहाँ मेरो मन भतभति पोल्छ दाई। बरू जस्तोसुकै होस्, चाहेजति खर्च गर्न पनि नपुगोस् तर आफ्नै कमाईले मन शीतल हुन्छ दाई। तपाईँको पैसा राख्नुस् दाई।'
यति भनेर नवीन गयो। हिजो जुत्ताले खुट्टा पोलेको थियो। तर आज उसका कुराले मेरो मन भित्रैसम्म जलिरह्यो। धेरैदिनसम्म पनि मन पोलि नै रह्यो।

लेखक, कवि, कथाकार -सुरेश बडाल