स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले विषेश कविता गोष्टीको आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा बिभिन्न पुस्ताका २३ कविले कविता सुनाए । डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा सम्पन्न विशेष कवि गोष्ठीमा प्रा.डा. व्रतराज आचार्यले वाचन गरिएका कविताको समिक्षा गरेका थिए । आफ्नो पुस्ताका कविहरु माझ आफ्नो छुट्टै पहिचान बनाएका कविहरू मञ्जु काँचुली, विष्णुविभु घिमिरे, विप्लव प्रतीक, एस.पी. कोइराला, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रभा भट्टराई, मातृका पोखरेल, विप्लव ढकाल, गीता त्रिपाठी, प्रल्हाद पोखरेल, अभय श्रेष्ठ, बाबु त्रिपाठी, बिना थिङ, असीम सागर, शिरीष, रसिक राज, अनुप जोशी, रिमा के.सी, नविन प्यासी, निशा रुम्बा, परिवर्तन देवकोटा र अश्विन समिपले आ-आफ्ना कविता वाचन गरेका थिए । 

त्यस्तै डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयका अध्यक्ष डा. तुलसी भट्टराईले छाेटाे शुभकामना मन्तव्य राख्दै स्रष्टा प्रतिष्ठान नेपालले विभिन्न पुस्तालाई सम्मिश्रण गरेर गर्व गर्न लायक़ नेपाली कविताकाे क्षेत्रमा ऐतिहासिक कार्यक्रम गरेकाे बताए । उनले महत्वपूर्ण र आवश्यक कार्य गरेकाेमा सप्रनेलाई निरन्तरताकाे कामना सहित धन्यवाद दिए । 
कविता सुनाउने क्रममा कवि मंजु काँचुलीले सधैं बाउ पुस्ता, काका पुस्तासँग कविता वाचन गरिरहेको आफूले अहिले भाइ पुस्ता, छोरा पुस्ता र नाति पुस्तासँग कविता वाचन गर्न पाउँदा खुसी लागेको बताइन्  । उनले भनिन्, 'नाति पुस्ता त झन् धेरै संवेदनशील र प्रयोगशील लाग्यो ।'