प्रिय अपरिचित!

I am not a narrator,
I am a poetic persona-
That's the difference my friend!
That's only the difference!

काउन्टरको लेडि भन्दै थिइन "First come First service sir! " पहिला सबैको आइडी कार्ड ल्याउनुस् अनि मात्रै म टिकेट काटिदिन समर्थ हुन्छु...। म भन्दा अघि आएको एक जना वयस्क ट्वाँ  पर्‍यो अनि म पनि मनमनै ट्वाँ  ...। म सोच्दै थिए कि यो First Come वाला आइडिया कसको हो? किन यो आइडियाले यसरी जताततै आफ्नो साम्राज्य फैलाउँदै छ? खैर ! जे सुकै होस् त्यो अजिबोगरिब Idea को जन्मदाता अथवा कर्मदाता ! तर यो नाटक किन सुरु भइरहेको छैन? समय भन्दा ठिक तीन मिनेट पाँच सेकेन्ड ढिलो भैसकेको छ...सुरु त हुन्छ भन्ने मलाई पूर्णतः विश्वास छ तर कति बजेर कति मिनेटमा त्यो म भन्न सक्दिन... भित्र स्टेजमा कतै रिहर्सल अझै चलिरहेको पो छ कि? कतै नाटकको मुख्य पात्रको घरमा एउटा घाम अस्ताइगयो कि? कतै निर्देशकको अनुपस्थितिले सञ्चालन गर्न अप्ठ्यारो पो भइरहेको हो कि? कतै सबै पात्रहरू सहरको कुनै क्याफेमा सिग्रेट र कफी पिउन पो गए कि? कस्सम! अझै सुरु भएको छैन....सुरु हुन नसक्नुको कारण थुप्रै हुन सक्छ...

नाटक मिमांसा: अनुत्तरित आत्मिक प्रश्नहरुको सम्मोहन

एक अपरिचित अनुहार जब जहाँ पनि विभोर मुद्रामा अलमलिन सक्छ तब न अनुहारको आभा पनि अनुहार जस्तै हुन्छ नत्र भने त यसको सबै उज्यालो/ यसको सबै सुवास कति चाडै चोरी लान्छन् मानिसहरू। यहाँ अपरिचित भएर अनि त्यहाँ पनि अपरिचित भएर हिँड्नु हराउनु बारे मे फेरि के सोच्दै छु? यस्तै रिस कुराहरू सोच्दा सोच्दा म हैरान भइजान्छु... मेरो हैरानी सायद थुप्रै अनुहारको हैरानी नहुन सक्छ...यो हैरानी विशुद्ध मौलिक छ मिठो छ मृदुल छ। अनि...यो नाटक सुरु हुने छाँट काँट देखाउँदै छ है...लु लु मानिसको हतारले ब्यहोरा देखाउन थालेको म देख्दै छु...हेर्नुस् त लाइनमा बस्न कति हतार मान्छेलाई ...एक जना गोरो अनुहार /आर्यन मुद्रा/ अग्लो काया/ मिलेको वक्षस्थल अनि नमिलेको नितम्ब / बाक्लो आँखीभौँ/ नशालु निलो नयन/ गाढा निलो जिन्स अनि गाढा कलेजी टाइट टिसर्ट ; उनी बोलाउँदै थिइन उनको अर्को सहेलिलाई जस्तो कि उ आएर आफ्नो ठाउँ सुरक्षित गरोस्- हेराइले सब थोक बताउँछ/ आँखाले जिब्रो चलाउँछ/इसाराले ईश्वरलाई पनि झुमाउँछ...
बाफ्रे यो के भयो ! सत्यनास नै भयो..बर्बाद नै भयो मानुषी! ए मानुषी ! म यस्तो भुलक्क्ड पनि हुन सक्छु र कतै! यति लापरबाही पनि हुन सक्छ र म बाट? नाटकको नाम के हो? कुन नाटक चलिरहेको छ यो थिएटरमा? अहो! अब त अत्ति नै पो भयो ....यो हुन्छ भन्ने मलाइ यत्ति पनि मनमा थिएन...म कुन थिएटरमा छु? र यो थिएटरमा म किन आए हुँला? के मैले निर्देशकको थोपडा हेर्नू थियो? कि मलाइ मुख्य पात्रमा देखिएकी सुन्दर कलाकारको असुन्दर कायाको एक निमेष बयान गर्नु थियो? के थियो मेरो मक्सद यहाँसम्म आउनुको ? कि म यो थिएटरमा अलमलिन मात्रै आएको हुँ...आकस्मिक नियमितता जस्तै ( कसको अर्गाज्मिक आइडिया पो थियो यो? आहा! आकस्मिक नियमितता) यो नित्य नियमितता हो कि यो कुकृत्य नियमितता हो यसरी अलमलिनु? ह्या के भनिरहेको छु म? किन यो प्रचुर रूपमा आइरहेछ मेरो मगजमा? म आए त आए तर अब कहाँ जाँदै छु? हैन यो नाटक नै त हेर्न आएको हुँ म? कि म यसै हराएर यहाँ सम्म भड्किएर लावारिश हुन पुगे? कसलाई सोधुम म? छेउको भलादमी केटोलाई कि गएर म निर्देशकलाई नै सोधु? अहो! यसरी हुँदैन मैले त सोध्नु नै पर्छ ....अक्सर सोध्न लजाउनेहरू हराउँछन् यो सहरमा..म लजाएर हराउन चाहन्न।

नाटक मिमांसा: अनुत्तरित आत्मिक प्रश्नहरुको सम्मोहन

ज्या! म त नाटकको अन्तिम डाउलगमा पो अल्झिरहेको रहेछु? म जस्तै सबै दर्शक त्यो डाइलगमा ट्वाँ  भैरहेका रहेछन्..नाटकको अन्तिम डाइलग के थियो त त्यसो भए? पख्नुस् है म त्यो डायलग भन्ने पात्रलाई सोध्छु ल!
छ नि अपरिचित मानुषी! तिमीलाई थाहै छ नि म साँझमा शीतल किरणसँग बात मार्न भनी निस्किएको थिएँ...रुखको टोड्कोमा आफ्नो गुम्सिएको सास सुल्झाउन हिँडेको थिएँ...म त कुनामा रहेको अँध्यारो चिया पसलमा हटलेमन पिउन भनी निस्किएको थिएँ...एक्कासि फेरि नाटकको अन्तिम डायलगमा? पर्ख है म मीमांसा मा लीन हुन्छु अनि बताउँछु आखिर के भयो यो नाटकमा! पर्ख है म मेरो चेतन मनको अवचेतन घर हुँदै अचेतन गुफामा पुग्छु ...थोरै धैर्य प्लिज! प्यसियन्स प्लिज!

 आत्मासँग कुरा गर्ने रे! मरेका लेखक चिन्तक वैज्ञानिकलाई बोलाउने रे! नयाँ खोज रे! आत्मासँगको साक्षात्कार रे! रिसर्च रे! यस्तो वाइयात गन्थन म के हेरिरहेको छु? को हुन् यी अपत्यारिला डक्टरहरू! अनि किन यो सब नाटक जबकि यो नाटक नै त हो! मरेको श्रीमतीसँग भेट्दा कसैले यस्तो अनसन्ट गफ गर्छ? कसैले आत्मासँग हुँदा सिग्रेट पिउँछ? अविश्वसनीय ...तर अनौठो मिठास..कसैले मीमांसा पनि मजाक बनाउन सक्छ? मजाक नगर्नुस् न मजाकमगन पात्रलाई मजाक बनाएर! तर मजाक पनि कस्तो भद्दा के! तपाईँले भने जस्तो "सम्मोहन"गर्न नसक्ने मजाक...लाल मोहन चाहिँ गर्न सक्ने मजाक!आफ्नै दुनियाँमा आफ्नै यात्रामा थोरै थोरै सम्मोहन भइरहेको थियो तब तपाईँ आउनु भयो र मजाक पनि मजाक जस्तै गर्नु भयो..म भङ्ग ..म अङ्गभङ्ग...यति बेला फेरि म नाटकको अन्तिम अन्तिम डायलगमा छु " कस्तो घनचक्कर नाटक देखायो भने नि!" नाटक समाप्त तर खोज जारी छ...आफै खोज्नुहोस् आफैलाई त्यो थिएटरमा जहाँ म अलमलिन पुगेछु...सम्मोहनमा पर्नु भएन भने एक कप एस्प्रेस्सो पिउनुस्! त्यो लिथेको पानी जस्तै हुनेछ...सब थोक विस्मृती भैजानेछ।

(नाटक : मीमांसा (शंकर लामिछानेको कथा आत्माको मीमांसामा आधारीत) 
मिती : साउन १० गतेदेखी साउन ३२ गतेसम्म 
समय : हरेक साँझ ५:३० बजे (सोमबार बाहेक) शनिबार दिउँसो १ बजेपनि 
स्थान : मण्डला नाटकघर, अनामनगर)