अभिनेता आर्यन सिग्देलले पहिलो पल्ट कमेडी भूमिका निभाएको चलचित्र ‘च च हुई’ यही शुक्रवारबाट प्रदर्शनमा आउने अन्तिम तयारीमा छ । चलचित्रलाई लिएर आर्यन लगायत टिम निकै उत्साहित छ । केही महिनाअघि प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’ बाट असफल भएका आर्यनले यस चलचित्रबाट निकै आशा राखेका छन् । ‘च च हुई’ मा आर्यन सिग्देलले नायिका मिरुना मगरसँग जोडी बाँध्दै छन् । चलचित्रमा चार क्यारेक्टर प्रेम अर्थात् आर्यन सिग्देल, भोला अर्थात् भोलाराज सापकोटा, सङ्गीता अर्थात् मिरुना मगर र श्यामलाल अर्थात् माओत्से गुरुङ मुख्य भूमिकामा छन् । जसको वरिपरि चलचित्रको कथा घुम्छ । चलचित्र हङकङ देखी लिएर मुस्ताङ अनि नेपालका अन्य ठाउँमा खिचिएको छ । चलचित्रको सुटिङको अविस्मरणीय क्षण सम्झिँदै चलचित्रका तीन मुख्य कलाकारले आफ्नो अनुभव साटेका छन् । चलचित्र छायाङ्कन गर्न हङकङ पुगेको टिमले हङकङको अहिले सम्मकै गर्मीको सामना गर्नु पर्‍यो भने मुस्ताङ पुगेका उनीहरूले दशकौँ पछिको भारी हिमपात र वर्षाको सामना गर्नु पर्‍यो ।

यो सँगै जति नै जटिलताको सामना गरे पनि आर्यन, मिरुना र भोलाराजले निकै रमाइलो गरेको बताएका छन् । चलचित्र आफैँमा कमेडी रासको भएकोले पनि काम गर्दा विभिन्न रमाइला अनुभव समेटेको उनीहरूको धारणा छ । उनीहरूका अनुसार चलचित्र निकै राम्रो बनेको र हरेक कलाकारले आफ्नो क्यारेक्टर सहजै निभाउने वातावरण निर्देशक साम्तेन भुटियाले बनाएको उनीहरूको विश्वास छ । चलचित्र हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । यही यात्रामा दुई मुख्य कलाकार आर्यन र भोलाको साक्षात्कार मिरुनासँग हुन्छ र चलचित्रले अर्कै मोड लिन पुग्छ । चलचित्रमा पुष्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायत कलाकारको अभिनय पनि रहेको छ । जीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन् । भने चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 'च च हुई'मा सुशन प्रजापतिको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र राजनराज सिवाकोटी रोशन थापाको सङ्गीत रहेको छ ।