रियालिटी शोलाई दर्शकले राम्रो साथ दिइरहेका बेला स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' ले दर्शकको माया र विश्वास पाइरहेको छ । स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' ले पाएको माया देखेर यति बेला टिम हौसिएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको शो युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा हेर्न सकिन्छ । हालसम्म यसको ४ एपिसोड सार्वजनिक भएका छन्, जसलाई दर्शकले निकै रुचाएका छन् । पहिलो पटक गरिएको यो प्रयासलाई दर्शकले मन पराएपछि निर्देशक विशाल भण्डारी भन्छन् ,’क्वालिटीको कन्टेन्ट दिने हो भने विदेशी शोको अधिकार महँगोमा खरिद गर्नै पर्दैन ।’

यसलाई कमेडी च्याम्पियनले पनि केही हदसम्म प्रमाणित गरेको छ । यसैले गर्दा अघिल्ला शोमा देखिएको केही कमीकमजोरीलाई दर्शक तथा शुभेच्छुककै सल्लाह अनुसार आउँदो एपिसोडबाट समाधान गर्ने प्रयास गरिएको समेत निर्देशक भण्डारीले बताएका छन् ।  शोमा निर्णायकको रूपमा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् । यति बेला टप १५ छनौट भइसकेका छन् । अब भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मूलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको सो विशाल भण्डारीको निर्देशनमा तयार भइरहेको छ । सोलाई रीमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् ।