यो वर्ष नायिका स्वस्तिमा खड्कालाई नेपाली चलचित्रले धेरै कुरा दियो । उनले पनि आफूले काम गरेका चलचित्रलाई धेरै कुरा दिइन् । यही वर्ष उनी नेपाल लाई प्रतिनिधि गर्दै विश्व माझ पुगिन् । भने यही वर्ष उनका दुई चलचित्र नराम्रोसँग डुबे । यति बेला उनी अभिनीत अर्को चलचित्रको छायाङ्कन सक्किएको छ । मङ्ग्लबार उनको आगामी चलचित्र ‘चपली हाईट ३’को छायाङ्कन सकियो । चलचित्रको छायाङ्कन सकिएपछि प्रेस मिट राखिएको थियो । जसमा चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रको छायाङ्कन गर्दाका अनुभव साटे । चलचित्रमा मुख्य भूमिका निभाएकी  स्वस्तिमाले कार्यक्रममा ‘चपली हाइट ३’को छायाङ्कनका क्रममा धेरै अप्ठेरो भोगेको सुनाइन् । उनले चलचित्रको क्लाइमेक्समा जाडो मौसममा रातभर पानीमा रुझ्नु पर्दाको पिडा सुनाइन् । उनी भन्छिन्, '३ दिनसम्म मध्यरातमा चिसो पानीमा रुझ्नु परेको थियो । त्यो बेलामा निर्देशक निकेश खड्काको अनुहार पनि हेर्न चाहँदैनथेँ । चिसो पानीमा रुझ्दै तातो पानी खन्याएर काम गरेँ ।’

यसै बिच कार्यक्रममा निर्माता अर्जुन कुमारले स्वस्तिमाको तारिफ गर्दै एउटा कलाकारमा हुनु पर्ने गुण स्वस्तिमासँग भएको र स्क्रिप्टले मागेको कुरा, सिनले मागेको कुरा नहिच्कीचाई गर्न तयार हुने बताए । साथमा उनलाई मेगास्टारको ट्याग पनि दिए । चलचित्रका निर्देशक निकेश खड्का चलचित्रको स्क्रिप्ट अनुसार नै चलचित्र खिचिएको बताएका छन् । उनले हिट सिरिजको क्रेडिट चपली हाइट ३ सम्म आइपुग्दा भजाउन पर्छ भन्ने नलाग्ने र चलचित्रको कथावस्तु नै शक्तिशाली रहेको दाबी गरे । कार्यक्रममा उपस्थित अर्की मुख्य अभिनेत्री सुपुष्पा भट्टले चलचित्र हेरी सकेपछि दर्शकले आफूलाई ‘हट नायिका’ नभन्ने बताइन् । उनले कथावस्तु मन परेकाले आफूले काम गरेको थपिन् । निर्माता अर्जुन कुमारले चलचित्र कुनै हालतमा चैत्र २८ को मितिबाट आफू पछि नसर्ने र नयाँ वर्षको समयमा दुई वटा चलचित्र रिलिज हुँदा कुनै समस्या नहुने उनको भनाइ छ । चलचित्रमा आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।