चलचित्र 'लक्का जवान' को पहिलो गीत सार्वजनिक भएको छ । 'मन त मेरो लक्का जवान' बोलको गीत बुधवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । कलाकार शिवहरी पौडेलको निर्देशनमा बनेको चलचित्रको सार्वजनिक गीतमा  प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्याल, सुशील पोख्रेल लगायत कलाकारले कम्मर मर्काएका छन् । बाबुल गिरी र मीन निरौलाको आवाज रहेको गीतमा बाबुल गिरीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियोमा सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रूपमा छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् । चलचित्र ‘आमा बङ्गलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्ने छ । चलचित्रमा कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिएको चलचित्र चैत २१ गते प्रदर्शनमा आउने छ ।