पछिल्लो समय निकै चर्चामा आएको कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' को १७औँ भाग प्रसारण भएको छ । सोमवार प्रसारण भएको एपिसोड अलि विशेष नै बन्यो । वाइल्ड कार्ड इन्ट्रीबाट प्रवेश भएका प्रतिस्पर्धी को प्रस्तुति रहेको यस एपिसोड मनोरञ्जनात्मकका साथमा भावुक बनाउने खालको रहेको छ । केही दिन अघि सोकी निर्णायक ॠचा शर्माको आमाको निधन भएको थियो । त्यसैले उनी पछिल्ला केही एपिसोडमा उपस्थित थिइनन् । आमाको १३औँ दिनको पुण्य तिथि सकेर शोमा फर्किएकी ॠचाको उपस्थितिले सो केही फरक माहौल बनाइरहेको थियो । मातृ बियोगमा परेकी उनको लागी कमेडी शोमा आफूलाई सामान्य तरिकाले समाहित गराउनु सजिलो भने पक्कै थिएन ।

यसै बिच वाइल्ड कार्डबाट इट्री भएका प्रतिस्पर्धी नुवाकोटका गणेश राईले आफ्नो प्रस्तुति पछि माहौल निकै भावुक बनाए । उनले ॠचालाई उनकी आमासँगको स्केच उपहार दिए । जुन गणेश आफैँले बनाएका थिए । उपहार खोली नसक्दै ॠचाले आफूलाई सम्हाल्न सकिनन् जुन दृश्यले सबैको आँखा रसायो । लाइभ हेर्न पुगेका दर्शक देखी निर्णायक र प्रतिस्पर्धी सबैको आँखा आँसुले भरियो । यो भावुक माहौललाई सामान्य बनाउन निर्णायक मनोज गजुरेलले मद्दत गरे भने होस्ट तथा निर्मात्री रीमाले पनि माहौललाई सामान्य बनाउन कोसिस गरिन् । यसरी कमेडी शोमा पहिलो पटक हाँसोको नभएर वियोगको आँसु पोखियो ।