बलिउडका हिट मेसिन अभिनेता अक्षय कुमारका एक पछि अर्को चलचित्र बक्स अफिसमा निकै सफल भइरहेका छन् । उनले अभिनय गरेका चलचित्रले सजिलै १०० करोड कमाउँछन् । वर्षमा चार वटा सम्म चलचित्रमा काम गर्ने उनका हरेक चलचित्र सफल भइरहेका छन् । यसैले पनि यति बेला उनको डिमाण्ड बलिउडमा निकै नै छ ।  डिमाण्ड बढिरहँदा अक्षयले आफ्नो भाउ पनि बढाइरहेका छन् । हालै उनले एक नयाँ चलचित्रको लागी एक सय करोड भन्दा बढी पारिश्रमिक लिएका छन् । भारतीय मिडियाका अनुसार उनले आनन्द एल राईले निर्देशन गर्ने नयाँ चलचित्रको लागी १ सय २० करोड पारिश्रमिक लिएर साइन गरेका छन् । योसँगै अक्षय बलिउडमा सर्वाधिक महँगो पारिश्रमिक लिने कलाकार बनेका छन् । चलचित्रमा अक्षयका साथमा नायिका साराअली खान र नायक धनुषको जोडीलाई पनि देखिने छ । चलचित्रको आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ । चलचित्र वर्षको मध्यतिरबाट फ्लोरमा जानेछ । तीन हप्ता अगाडी प्रदर्शनमा आएको अक्षयको चलचित्र 'गुड न्युज' पनि २०० करोड भन्दा बढीको कमाई गरिसकेको छ ।