चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । विपिन कार्की स्टारर चलचित्रको 'जिन्दगीको के छ र भर' बोलको गीत सार्वजनिक भएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतको लिरिकल भिडियो मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा सुभाष भुसालको सङ्गीत रहेको छ भने सुरज गैरेको शब्द रचना रहेको छ । यसलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् । चलअचल दृश्य समावेश गरिएको गीतको शब्द तथा भिडियोले मन छुन्छ । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् । आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’को जीवनमा आउने उतार-चढावको कथा चलचित्रले भन्छ ।

चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने छ । चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।