गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोगार्थ श्रीमद भागवत महा पुराण आयोजना गरिने भएको छ । यही माघ १९ देखि २६ गतेसम्म प्रवीण पं. दीनबन्धु पोखरेलले श्रीमद भागवत महा पुराण वाचन गर्ने छन् । साथमा यो अनुष्ठान आध्यात्मिक धनधान्य चल महोत्सवको रूपमा आयोजना गरिने भएको छ । धर्म, जात, भाषा, सम्प्रदाय र क्षेत्रीय भावनाभन्दा माथि उठेर एउटा देशको गौरव आयोजनामा सहयोग गर्ने उद्देश्यले यस धार्मिक महोत्सवको आयोजना गरिने आयोजकले बताएको छ । चितवन र यसका छिमेकी जिल्लाका महानगर, उप महानगर, नगर तथा गाउँपालिकाहरूको यो अभियान सफल पार्नु तथा यसको संरक्षकत्व प्रदान विशेष दायित्व भएको र सामूहिक दायित्व र पुण्य कमाउने अनि साख आर्जन गर्ने अवसर नगुमाउन अनुरोध गरिएको छ । धनधान्य चलको माध्यमबाट एकमुष्ट सहयोग सङ्कलन गरी निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सम्पन्न गर्न हातेमालोका लागि आयोजकले अपिल गरेको छ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष तथा कलाकार सिताराम कट्टेलले यसको जानकारी दिएका हुन् ।