निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘चार आनाको मसला’ बोलको गीतमा  राज लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । यसै गरी गीतमा डिपी खनालका शब्द र सुवास भुसालको शब्द रहेको छ । प्रदीप लामा र 'द नेक्स टिम'ले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमले कम्मर मर्काएका छन् । भिडियोमा नायिका द्वय सुपुष्पा र स्वस्तिमालाई निकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।