प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा दुर्गा खरेल र अनुप थापाको स्वर रहेको छ । गीतमा केशव मिश्रको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा बुद्धि तामाङ,अग्रज केसी र दिपाशा बिसी फिचर्ड छन् भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । राजधानीमा सडक गल्लीमा ठेला गाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, सङ्घर्ष र अवस्थाको विषयमा तयार भएको यस चलचित्रको गीतमा सुकुम्वासी बस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई देखाइएको छ । बुद्धि र अग्रजका साथमा चलचित्रमा सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीसँगै नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवाको अभिनय रहेको छ । दीपा धरेल प्रस्तुत कर्ता रहेको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुयाँलको लगानी रहेको छ । रविन आचार्यले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फागुन १६ गतेबाट प्रदर्शनमा आउने 'धुलो' निर्देशक मिश्रको यो डेब्यु चलचित्र हो ।