पछिल्लो एक महिना यता विश्वभर २३ लाख बढी कोरोनाबाट सङ्क्रमित भैसकेका छन् भने डेढ लाख बढिले ज्यान गुमाइसकेका छन् । यस भाइरसले विश्वलाई नै आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक हिसाबले कमजोर बनाइरहेको छ भने सामाजिक सद्भाव बिस्तारै कमजोर बन्दै गइरहेको छ । नेपालमा पनि कोरोनाको जोखिमबाट जोगिनको लागी विगत ४ हप्ता यता लकडाउन जारी गरिएको छ भने यसले जनजीवन निकै प्रभावित बनाइरहेको छ । एका तर्फ रोग र यसको सङ्क्रमणको त्रास अर्को तिर दैनिकी चलाउन परिरहेको समस्याबाट नेपाल लगायत छिमेकी देश भारत पनि यो कुराबाट अछुतो छैन । कोरोना भाइरसले सामाजिक दुरी र व्यक्तिगत दुरी कायम त गराएको छ नै यो सँगै अर्को एक गम्भीर स्थिति सृजना गरेको छ । त्यो हो जातीय, भौगोलिक र धार्मिक दुरी । विश्वका ठुला स्वतन्त्र मुलुक देखी भारत र नेपालमा समेत यसको असर पर्न थालेको छ । जसको परिणाम स्वरूप नेपालमा धार्मिक विभेद देखिन थालेको छ । भारतमा केही दिन अघि हिन्दु र मुस्लिम बिच भएको विभेदको खबर निकै आइरहेको थियो । यसको अर्को रूप नेपालमा पनि देखिएको छ ।

केही दिन अघि उदयपुरमा एकै ठाउँ बसेको अवस्थामा भेटिएका भारतीय मूलका १२ मुस्लिम नागरिकलाई कोरोना पोजेटिभ भएको पुष्टि भएपछि यस कुराले मिडिया लगायत सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । नेपालमा कोरोना फैलाउने हेतुले लुकेर बसेका भनी ती मुस्लिम समुदायका मानिसहरूका विरुद्ध आवाज उठिरहेको छ । यस विषयमा निर्देशक असिम शाहले आफ्नो विचार राखेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो तर मार्मिक स्ट्याटस पोस्ट गर्दै अहिलेको जटिल समयमा सद्भाव मेटाउने उद्देश्यले गरिएको आरोप प्रत्यारोपले सबैलाई असर गर्ने बताएका छन् । उनी लेख्छन्, 'हामी नेपालीहरू सदियौँ देखि मिली आयौ सँगै दशैको टिका नि लगायौ र इदमा सेवै र बिर्यानि पनि खायौँ । देशमा परि आएको बेला न हिन्दु न मुस्लिम भनी काँधमा काँध मिलाएर हिँड्यौ र हरेक कठिन परिस्थितिमा सँगै उभियौँ । नेपाल एकीकरण देखि लिएर गणतन्त्र ल्याउँदासम्म सँगै लड्यौ । कोही कसैको मृत्यु हुँदा कन्धामा कन्धा मिलाएर दागबत्ती र मट्टी पनि दियौ । चाहे हिन्दु दिदीबहिनी हुन् या मुस्लिम हामीले राखी बन्धन र भाइ टिका लगाएर दिदीबहिनीको रक्षा गरेका छौँ ।'

आज कोरोना भाइरस अर्थात् ( कोभिड-१९ ) सँग लड्न हामी किन हिन्दु र मुस्लिम गरी रहेका छौँ ? रोग कुनै धर्म वा जात हेरेर लाग्ने कुरा हैन यदि मुस्लिम समुदायबाट कोरोना फैलाउने कार्य भएको भए सबै भन्दा धेरै जोखिम त मुस्लिम समुदायलाई नै छ तर अफसोस केही दुई पैसामा बिक्ने अनलाइन मिडिया र तुच्छ मस्तिष्क भएको व्यक्तिहरूले हामी बिच दङ्गा गराउने प्रयास गरी रहेका छन् ।' मस्जिदमा लुकेर बसेका भनिएका व्यक्ति हरू बारे उनी लेख्छन्, 'जमात" भनेको घर छोडेर हिँड्ने समुदाय हो, बौद्ध धर्मका भिक्षुहरूजस्तै हिन्दुहरूमा सन्न्यासी, जोगी जस्तै । यस्तो जमातमा हिँडेको बेला उनीहरू बस्ने ठाउँ मस्जिद नै हो । अनावश्यक हल्लाको पछि नलागौँ, साम्प्रदायिक विभेद गर्ने र विशेष धर्मालम्वीलाई निशाना साँध्ने काम नगरौँ । बरु कतै कुनै जमाती मस्जिदमा फसेका भए त्यसबारे प्रहरीलाई खबर गरौँ र क्वारेन्टाइन पठाउन मद्दत गरौँ।' उनले यो विषम परिस्थितिमा लड्नु भन्दा एक आपसमा सहकार्य गरेर मात्र सबैको राम्रो हुने पनि बताएका छन् ।

उनी यस अफवाह फैलिनुमा केही मिडियाको र बौद्धिक जमातको पनि हात रहेको जुन निकै गलत भएको र यसले समाजलाई गलत दिशा तर्फ दोहोर्‍याउने विचार पनि राखेका छन् । वास्तवमा विश्व नै त्रासमा गुज्रिरहेका बेला एक अर्कालाई दोषारोपण गर्दै बस्नु भनेको समस्या अझ बढ्नु नै हो । यसलाई मनबाटै मनन गरेर नेपाली समाजमा आज सम्म कायम रहेको भाइचारा र सद्भावका साथ अघि बढ्ने हो भने कोरोना मात्र होइन यस्ता सयौँ ठुला समस्यासँग जित्ने साहस नेपालीमा छ ।