शुक्रवार आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन भयो । अर्थमन्त्री डा. युवराज खतिवडाले चलचित्र क्षेत्रलाई सामान्य प्राथमिकता दिइएको बजेट भाषण गरे । जस अनुसार सरकारले प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने बताइएको छ । बजेटमा भनिएको छ, 'प्रदेश सरकारको समन्वयमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता संरक्षण र संवर्धन गर्ने गरी फिल्म निर्माण गर्न प्रोत्साहित गरिनेछ।' अर्थ मन्त्री खतिवडाले हरेक प्रदेशमा छायाङ्कन स्थल निर्माण, चलचित्र कलाकार सङ्घको भवन निर्माण र नेपाली चलचित्रको सुरक्षित भण्डारणका लागि नेपाल चलचित्र विकास बोर्डलाई आवश्यक बजेट विनियोजन गरेको बताएका छन् । यस्तै चलचित्र घरलाई मूल्य अभिवृद्धि कर, कर विवरण तथा कर दाखिला गर्ने अवधि बढाई चौमासिक बनाइएको छ ।

यसै गरी मन्त्री खतिवडाले बजेट भाषणको क्रममा साहित्यकार, कलाकार र सङ्गीतकारको वृत्ति विकासका लागि कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने बताए पनि ठोस कार्यक्रम भने प्रस्तुत गरेनन् । बजेटमा नेपाली श्रमजीवी चलचित्र कर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उल्लेख छ । बजेटमा चलचित्र विकास बोर्डको प्रशासनिक कार्यक्रममा कटौती गरिएको छ भने हल सञ्चालकलाई विद्धुतमा छुट दिने बताइएको छ ।