वरिष्ठ गीतकार रत्नशम्शेर थापाको बिहीबार मृत्यु भयो । लामो समयदेखि ढाडको समस्याबाट पीडित ८३ वर्षीय थापाको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । शुक्रवार बिहान आर्यघाट नजिकै श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । थापाको पार्थिव शरीरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले नेपालको राष्ट्रिय झन्डा ओढाएका छन् । श्रद्धाञ्जली सभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आउने भनिए पनि उनी नआएपछि सो क्षेत्रका सांसद गगनले गीतकार थापालाई राष्ट्रिय झन्डा ओढाएर सम्मान सहित अन्तिम श्रद्धाञ्जली दिएका हुन् । सांसद थापाले गीतकार थापा हामी माझमा नरहे पनि पुस्तौँ पुस्तासम्म उनको गीतबाट मुटुमा सजाएर राख्ने बताए । लकडाउनका कारण श्रद्धाञ्जली सभामा केही मात्र कलाकारहरू उपस्थित थिए । थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।