केही दिन पहिले लोकप्रिय नेपाली गायक अमृत गुरुङको एउटा फोटो सामाजिक सञ्जालमा खुबै भाइरल भयो । नहुने पनि कुरा नै थिएन । किनकि नेपाली मौलिक गीत सङ्गीतका कारण आफ्नो स्थान निकै उँचो बनाइसकेका नेपथ्य ब्यान्डका गायक गुरुङ आफ्नै (जन्म)घरमा निकै सरल परिवेशमा र नेपाली मौलिक शैलीमा खाना खाँदै गरेका थिए । उनको यो तस्बिर कुनै बनावटी नभएर उनले बाँच्दै आएको जीवन शैलीको प्रतिरूप हो । आफ्ना गीत सङ्गीत लिएर विश्व यात्रा गर्ने उनी अहिले पनि आफ्नै गाउँमा बस्छन्, घरको/खेतको काम गर्छन्, पाखा बारी डुल्छन् र त्यही ग्रामीण नेपाली जीवनले बाँचेको सङ्गीत समेटेर गीत बनाउँछन् अनि संसारलाई सुनाउँछन् । उनको जीवन मात्र सरल आनन्दित छैन उनका गीत पनि उनले बाँचेको जीवनको एउटा प्रतिबिम्ब हो जस्तै लाग्छ। उनलाई न सहरका अग्ला महल अनि महँगा होटेलमा बसाउने खानाको लोभ (सोख) छ न आफू बाँचेको र रमाएको माटो प्रति लाज छ । बरु उनी त एकान्तमा आफै भित्र रमाउँछन्, रुखका पात/हाँगा, चराका चिरबिरसँग सङ्गीत सापटी माग्छन् र सबैको मनसम्म पुग्ने गरी शब्दमा भरिदिन्छन् । आफ्नो मौलिकता र पहिचानलाई सम्मान गर्ने यी स्रष्टालाई यति बेला न कोरोना कहरले रोकेको छ न लकडाउनले घरको चार किल्ला भित्र बाँधेको छ ।

आफुले बाँचेको जिवनमा धुन भर्ने गायक अमृत गुरुङ

लकडाउनले सबै कलाकार सेलिब्रेटी घरमा कैद भएको बस्नु परेको अवस्थामा उनी यति बेला आफ्नै परिवार सहित खेतीपातीमा व्यस्त छन् । उनी र उनको परिवारलाई यति बेला रोपाइँको चटारो छ । बर्खाले राम्रो सङ्केत गरेसँगै उनी परिवार सहित धान रोप्न मस्त छन् । उनले जति माया गीत सङ्गीतलाई माया गर्छन् उति नै पौरखलाई पनि गर्छन् । उनले सामाजिक सञ्जालमा प्राय: पोस्ट गर्ने विषय र तस्बिर भनेको उनले गरेका कामहरू, उनले समय बिताउने वातावरण र यिनै सँग सम्बन्धित कुराहरू हुन्छन् । उनी हरेक तस्बिरमा यसरी खुसी देखिछन् कि मानौँ उनी जहाँ छन् जीवनको सबैभन्दा आनन्ददायी जीवन जिइरहेका छन् । यिनै गुरुङले सामाजिक सञ्जालमा फेरी केही तस्बिर राखे जसले उनको सादगी जीवन र उनको खुसी हुने तरिकाले जो कोहीलाई लोभ्याउन सक्छ । उनले खेतमा ‘परेली’ सँगै लागेर धान रोपेको केही थान तस्बिर सार्वजनिक  गरेका छन् जसले असार १५ मनाउन र तस्बिर खिच्नकै लागी हिलोमा पसेजस्तो गर्ने सेलिब्रेटी कलाकारलाई मज्जाले गिज्याइदिन्छ ।

आफुले बाँचेको जिवनमा धुन भर्ने गायक अमृत गुरुङ

उनी आफ्नो तस्बिरको क्याप्सनमा लेख्छन्, 'आज दिनभर ‘परेली’ सँगै लागेर खेतीमा खटियो । बेस्सरी रमाइलो भयो । अब बाँकी खेती असार १५लाई... खुसीको कुरा, हाम्रोमा ‘परेली’ लाउने चलन अझै छ । गाउँमा सबैको खेतमा गाउँकै सामूहिक-सामुदायिक श्रम आदान प्रदानबाट पहिले देखि गाउँको खेती धानिएको थियो । हामी त्यसलाई निरन्तरता दिने प्रयासमा छौँ । ‬' जसरी उनका गीत सुन्दा हामीलाई उनी गीत सङ्गीत कै लागी जन्मिएको जस्तो लाग्छ उसै गरी उनको दैनिकी हेर्दा र महसुस गर्दा लाग्छ वास्तवमा असल कलाकार त उनी हुन् जो माटोमा जीवन उमार्छन्, पाखा बारी खेत अनि जङ्गलबाट जीवनको सङ्गीत खोजेर ल्याउँछन् अनि धुन भर्छन् । हामी ति गीत सुन्छौ अनि भन्छौँ वाह, क्या अर्ग्यानिक स्वाद!! 

तस्बिर: अमृत गुरुङको फेसबुकबाट