पछिल्लो समयमा नायिका स्वस्तिमा खड्काको चर्चा सिने नगरीमा बढि नै हुने गर्दछ् । चलचित्र ‘होस्टेल रिर्टन्स’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले पहिलो चलचित्रबाट नै प्रसंशा पाइन् । निर्देशक निश्चल बस्नेतसँग विवाह बन्धनमा बाँधिएपछि स्वस्तिमाको चर्चा अझ बढि भयो । विवाह पछि खड्का चलचित्रमा अझ सक्रिय भएकी छिन् ।

यही बर्षको सुरुवातमा उनी अभिनित चलचित्र ‘लभ लभ लभ’ प्रदर्शनमा आएको थियो । व्यपारिक हिसावले चलचित्र कमजोर भएता पनि स्वस्तिमाको अभिनयले धेरैको मन जितेको थियो । चलचित्र र म्युजिक भिडियोमा व्यस्त रहेकी स्वस्तिमालाई ‘कुटुमा कुटु’ नामक गीतले अझ बढि चर्चामा ल्याएको थियो । उक्त गीतमा उनले नृत्य गरेकी छिन् । छोटो समयमा गीतले युट्युबमा करोड माथि भ्यु पाइसकेको छ ।

चलचित्र भन्दा बढि गीतको कारण चर्चामा आउने स्वस्तिमाको आस अब चलचित्र ‘छक्का पञ्जा २’सँग जोडिएको छ । गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा स्वस्तिमा अनुबन्धित भएसँगै उनको चर्चा सुरु भइसकेको थियो । यतिबेला ‘छक्का पन्जा २’को ‘ए दाजु नसमाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

चौतर्फी वाहवाही बटुलीरहेकी स्वस्तिमा गतिको कारण मात्र हिट हुने हो की चलचित्रको कारण पनि त्यो भने ‘छक्का पञ्जा २’ रिलिज भएपछि थाहा हुने छ ।