गत १४ जुनमा आफ्नै निवासमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे । उनको आत्महत्या हो कि नियोजित हत्या भन्ने बारे बहस सुरु भएपछि यस घटनाको विषयमा अनुसन्धान भइरहेको छ । यस घटनामा हात हुन सक्ने भन्दै प्रहरीले शङ्कास्पद व्यक्तिको बयान लिइरहेको छ । यसैबिच मुम्बई प्रहरीले निर्देशक सञ्जलिला भन्सालीसँग सोमबार बयान लिएको छ । भन्साली ती आठमध्येका एक हुन् जसका विरुद्ध विहारमा सुशान्तलाई आत्महत्या दुरुत्साहन गरेको भन्दै उजुरी परेको थियो । भन्सालीले पहिला 'गोलियोंकी रासलीला : रामलीला' फिल्मको अफर सुशान्तलाई गरेका थिए । पछि सुशान्तलाई हटाएर भन्सालीले रणवीर सिंहलाई लिएका थिए । उनको 'बाजिराव मस्तानी'मा पनि यसै गरिएको आरोप छ । प्रहरीले यही विषय उपर रहेर भन्सालीसँग सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुशान्तको पोस्टमार्टम रिपोर्टमा आत्महत्या नै भएको पुष्टि भइसकेको छ । तर, पनि पुलिस उनले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

अधिवक्ता सुधीर कुमार ओझाले सञ्जयसँगै निर्माता करण जोहर, आदित्य चोपडा, साजिद नाडियावाला, सलमान खान, भूषण कुमार, एकता कपुर र दिनेश विजन विरुद्ध मुजफ्फरमा उजुरी दिएका छन् । यी फिल्मकर्मीहरुले सुशान्तको चलचित्र पनि प्रदर्शन हुन नदिने र फिल्मसँग सम्बन्धित कार्यक्रममा पनि सुशान्तलाई नबोलाउने गरेको ओझाको आरोप छ । यस मुद्दा अहिलेसम्म ३० जना भन्दा बढीसँग सोधपुछ भइसको छ । उनको अपार्टमेन्टको कर्मचारीदेखि म्यानेजर, पीआर टिम, साथी, प्रेमिका र परिवारको सदस्यसँग प्रहरीले सोधपुछ गरेको हो । सुशान्तले बलिउडमा विद्यमान नातावादको कारण ज्यान गुमाउनु परेको भनी विवाद बढिरहेको छ ।