पछिल्लो केही महिना यता नेपाली मनोरञ्जनको दुनियाँ केही सुनसान जस्तै रह्यो । कोरोना सङ्क्रमणले फैलाएको त्रास र असुरक्षाले नियमित रूपमा प्रदर्शन भइरहेका चलचित्र प्रदर्शन हुन रोकिए भने युट्युब वा टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हरू केही हदसम्म रोकिए । युट्युबमा दर्शकको राम्रो साथ पाएका हास्य शृङ्खला देखी अन्य नियमित शो हरू पनि प्रभावित भए । यसैको चपेटामा परेको थियो कमेडी सिरियल 'हामी यस्तै हो!' । लकडाउनले छायाङ्कन देखी अन्य काम गर्न नपाउँदा प्रसारण रोकिएको यस सिरिजको प्रसारण सुरु भएको छ । समाजका विभिन्न पाटोहरूलाई समेटेर हास्य रसका साथ प्रसारण हुने यस सिरिज अब पहिला झैँ नियमित प्रसारण गर्ने योजना रहेको टिमले बताएको छ । 'हामी यस्तै हो!' को २६औँ भाग युट्युबमा हेर्न सकिन्छ । यस अङ्कमा रियाशा दाहाल गेस्ट आर्टिस्टको रूपमा प्रस्तुत भएकी छिन् । सहिन प्रजापतिको निर्देशन रहेको सिरिज मा लक्ष्मी गिरी, सहिन प्रजापति, कुशल विष्ट, अनिता बस्नेत, आश्मा गिरी लगायत कलाकारको अभिनय रहेको छ । 'हामी यस्तै हो!'को यस अङ्कमा महिलामाथि हुने दुर्व्यवहार र हिंसालाई विषयवस्तु बनाइएको छ ।