गायक दुर्गेश थापाको नयाँ गीतलाई चोरीको आरोप लागेको छ । गत वर्ष 'बीच्चबीच्चमा’ बोलको तीज गीत ल्याएर चर्चामा आएका थापाले बिहीबार नयाँ तीज गीत ‘एउटा फोटो खिच’ युट्युबमा सार्वजनिक गरेका थिए । ‘बीच्च बीच्चमा–२’ नामबाट बजारमा सार्वजनिक गरिएको गीतलाई चोरीको आरोप लागेको छ । लोक कवि अलि मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’को अन्तरा हुबहु चोरी गरेको आरोप लागेको हो । अलि मिया लोक वाङ्मय प्रतिष्ठानले गायक प्रेमराजा महत र हरिदेवी कोइरालाको स्वर गीतको शब्द चोरेको आरोप लगाएको हो । गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ ।

हेरौँ कस्तो छ अलि मियाको गीत ‘आकाशमै बादलु डम्मै छ’:

अलि मियाँको उक्त गीत म्युजिक नेपालबाट पहिल्यै बजारमा आइसकेको र ‘पहिल्यै बजारमा आएको गीतबाट शब्द चोरी भएको अलि मिया लोक वाङ्मय प्रतिष्ठानका सचिव पद्मराज ढकालले बताएका छन् । उनले अब के गर्ने भन्नेबारे प्रतिष्ठानका अन्य सदस्यहरूसँग कुरा गरिरहेको समेत जानकारी दिएका छन् । यसबारे गायक दुर्गेशले भने उक्त अन्तरा गाउँमा सुनेको आधारमा प्रयोग गरेको बताएका छन् । उनले भाकाको गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर, जानेरै प्रयोग नगरेको स्विकारेका छन् । आफूले गाउँघरको गीत बाहिर आओस्, बजारमा चर्चा पाओस् भनेर गाएको र त्यत्रो गीत बनाएपछि त्यतिका लागि चोर्नु आवश्यक नरहेको उनले उल्लेख गरेका छन् ।