कोरोना महामारीले विश्वलाई केही समय देखी ठप्प बनाएको छ । ठुला ठुला उद्योग कलकारखाना देखी सामान्य व्यवसाय समेतमा यसले निकै ठुलो असर गर्‍यो । यो असरले ठुलो अर्थतन्त्र भएका राष्ट्रलाई ठुलो नै घाटा लाग्यो भने सानो अर्थतन्त्र बहेका मुलुकमा सानो घाटा लाग्यो तर सबैभन्दा मारमा परे यिनै साना अर्थतन्त्र हुने मुलुक । सीमित उद्योग सीमित आम्दानी र सीमित आय श्रोत भएका आर्थिक ब्याक अप नभएका नेपाल जस्ता मुलुकलाई कोरोनाले धेरै वर्ष पछाडि धकेलेको छ । नेपालमा विगत चार महिना यता अत्यावश्यक बाहेक सम्पूर्ण क्षेत्र बन्द रहे । न उद्योग कलकारखाना सञ्चालनमा आउन सके न कुनै किसिमको आर्थिक कारोबार भयो । हुने सम्भावना पनि भएन । किनकि विश्वका निकै सबल र सक्षम राष्ट्रहरू समेत घुँडा टेकेको यस महामारीको अगाडी नेपालको केही जोर चल्ने सम्भावना नै भएन । महामारी नफैलियोस् र समाजमा प्रवेश नगरोस् भनी २ जना कोरोना सङ्क्रमित भेटिँदा ४ महिना अघि जारी गरिएको लकडाउन मङ्गलवार रातीबाट समाप्त भयो । सरकारले आधिकारिक रूपमा यसको अन्त्यको घोषणा यति बेला गर्‍यो तर जनताले केही हप्ता अघि बाटै यसलाई पालना गर्ने छोडिसकेका थिए । फलस्वरूप व्यापार व्यवसाय र मानिसको आवतजावत सामान्य अवस्था झैँ बढिसकेको थियो । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पनि स्थिति अझै गम्भीर छ । किनकि दिन प्रतिदिन कोरोना सङ्क्रमित बढिरहेका छन् भने सरकारले टेस्टिङ नै कम गरेको छ । यसरी केही क्षेत्रमा प्रतिबन्ध लगाएर अन्त्य गरिएको लकडाउनले केहीलाई खुसी पनि दिएको छ ।

चार महिनासम्म बिना उद्यम बिना कुनै काम र आर्थिक क्रियाकलाप बाट बाहिर रहेर घरमा बस्नु परेको पिडा अन्त्य भएको छ तर यो खुसी सँगै एउटा ठुलो डर पनि सबैको मनमा यथावत् छ । सरकारले लकडाउन अन्त्य गरेसँगै सिनेमा हल, शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, ब्युटी पार्लर, जिम खाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलयहरु, पार्टी प्यालेस, चिडिया खाना, धार्मिक स्थललगायत भिडभाड हुने क्षेत्र अनिश्चित कालसम्म बन्द रहने घोषणा गरेको छ । यसले यी क्षेत्रमा आश्रित समूहलाई भने थप अन्यौल सृजना गरिदिएको छ । यिनै अन्यौलतामा परेका क्षेत्र मध्यको एक हो नेपाली चलचित्र उद्योग । नेपाली चलचित्र वृत्तमा लकडाउनको अन्त्य सँगै चलचित्र क्षेत्र पनि खुल्ने र यस  सम्बन्धी काम सुचारु गर्न पाइने आशा जागेको थियो । तर सरकारले अझै फिल्म इन्डस्ट्रीलाई प्रतिबन्ध लगाउँदा एक किसिमको असन्तुष्टि उब्जेको छ । लकडाउन भएसँगै बन्द भएका फिल्म हल, रोकिएका छायाङ्कन तथा अन्य प्राविधिक कामहरू अझै संजालनमा नआउँदा निकै ठुलो आर्थिक घाटा व्यहोरी रहेको छ सिङ्गो फिल्म इन्डस्ट्रीले । ठुलो लगानीमा बनेका हलदेखि ऋण लिएर चलचित्र बनाउने निर्माता, चलचित्र क्षेत्रमा आश्रित प्राविधिक तथा दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी सबै अप्ठेरोमा परेको स्थिति छ ।

यसबारे सरकारको उति चासो गएको देखिँदैन । साउन २१ गतेदेखि आन्तरिक तथा भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान समेत खुला गर्ने निर्णय लिँदा पनि सरकारले चलचित्र क्षेत्रलाई सुचारु गर्न कुनै मापदण्ड नतोक्दा एक किसिमको लापरबाही भएको आभास हुन्छ । किनकि चलचित्र छायाङ्कन देखी प्रदर्शन सम्मको लागी निश्चित मापदण्ड बनाएर सुरक्षा अपनाएर अगाडी बढ्ने हो भने यो असम्भव कुरा होइन । यसबारे नेपालले कोरोना भाइरसको उद्गम स्थल चीनबाट धेरै कुरा सिक्न सक्छ । चीनले ६ महिना पछि जोखिम कम भएका स्थानमा फिल्म हल सञ्चालनमा ल्याउन सक्ने नीति बनाएको छ । चीन विश्वकै दोस्रो ठुलो चलचित्र बजार हो । जुन कोरोनाभाइरस महामारीको कारण दर्दनाक अवस्थामा छ । यस अवस्थाबाट बिस्तारै बाहिर निस्किने प्रयासमा चीन सरकारले सुरक्षित र कडा सुरक्षा प्रविधिका बिच हल सञ्चालनमा ल्याउन लागेको हो । ३० प्रतिशतको हाराहारीमा चलचित्र प्रदर्शन गराएर, जम्मा ५० प्रतिशत दर्शकलाई हलमा प्रवेश गराएर, हाल सम्पूर्ण रूपमा हरेक सो पछि डिसिन्फेक्ट गर्ने र दर्शकको तापक्रम जाँच देखी मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग सम्मका कुरालाई समेटेर यस निर्णय गरिएको हो । अब यस कुरालाई मनन गर्ने हो र नेपालको अवस्थालाई बुझेर नीति लिने हो भने कमसेकम अबको केही समय पछि चलचित्र क्षेत्रले सास सम्म फेर्न सक्ने स्थिति बन्ने थियो ।

हल सञ्चालनमा आए लगत्तै दर्शक हलसम्म निस्फिक्री पुग्ने स्थिति त आएको छैन । तर महिनौँ देखी धुलो जमेर बसेको हल सम्पूर्ण सुरक्षा प्रविधि अपनाएर सुरक्षित बनाउने हो भने दर्शकले फिल्म हल पनि त्यति असुरक्षित ठाउँ होइन भन्ने आभास गर्ने थिए जसले कोरोना त्रास कम भएपछि पनि मनमा डर नराखी हलसम्म पुग्ने साहस गर्ने थिए । एकातिर चलचित्रको काम सुरु गर्न नपाउनु र सुरु भएका काम अलपत्र स्थितिमा हुनु अर्को तिर निर्माण भएका चलचित्र कहिले सम्म थन्किएर बस्ने भन्ने अन्यौल । यसले कलाकार, निर्माता, निर्देशक देखी सबैमा निराशा पैदा गरिदिएको छ । यसले दर्शकको मनमा पनि चलचित्र क्षेत्र एक असुरक्षित स्थान हो जहाँ जोखिमको सम्भावना धेरै हुन्छ भन्ने परिरहन्छ । यस बारे चलचित्र क्षेत्रको अभिभावक चलचित्र विकास बोर्डले सरकारसँग लबिङ गरी आफ्ना योजना र चलचित्र क्षेत्रलाई कसरी सुरक्षित र आशाजनक रूपमा अगाडी बढाउन सकिन्छ भन्ने प्रस्ताव ल्याउन जरुरी देखिछ ।  यसले फिल्म इन्डस्ट्री पनि एक स्वतन्त्र र सुरक्षित उद्योग हो भन्ने देखाउँछ ।