पाइरेसीका कारण नेपाली चलचित्र ठुलो मारमा पर्दै आइरहेको छ । यस अघि पनि यस खालका विषयहरू अघि नआएका भने होईनन् । तर पनि चेतनाको कमी र मजबुत कानुन नहुनाले पाइरेसीको क्रम भने घटेको छैन ।

यस्तै, ‘सिनेमा घर एप’ का सञ्चालक द्वय सागर खरेल र खगेन्द्र लामिछानेले दिएको जाहेरीको आधारमा यही फागुन १३ गते महानगरीय प्रहरी अपराध महाशाखाले दर्जनौँ नेपाली फिल्मको पाइरेसी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार पत्रकार सम्मेलन मार्फत् बेशीसहर-२ लमजुङका २५ वर्षीय सुजन परियार फिल्म पाइरेसीको कसुरमा पक्राउ परेको जानकारी गराइयो ।

अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी अभियुक्तलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको अपराध महाशाखाका प्रहरी निरीक्षक भुवन बहादुर खड्काले जानकारी दिए । अभियुक्त परियारलाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ अनुरूप सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौँमा पेश गरेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

चलचित्र विकास बोर्डमा भएको पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष दयाराम दाहालले २०५९ सालमा निर्मित पाइरेसी सम्बन्धि कानुन कमजोर भएका कारण पाइरेसी गर्नेहरूको मनोबल बढेको हुनसक्ने बताएका छन् ।